झापा-भारतीय चिया बोर्ड र भारतको वाणिज्य विभागले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) का कारण नेपाली चिया निर्यात प्रभावित भएपछि झापासहित पूर्वी नेपालका चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् ।
उद्योग बन्द भएसँगै करिब ६० हजार श्रमिक तथा कर्मचारीको रोजगारी संकटमा परेको छ । झापामा एउटा सरकारी र चार सहकारीसहित ३२ वटा चिया उद्योग सञ्चालनमा छन् । नेपाली चियाको प्रमुख बजार भारतमा निर्यात अवरुद्ध भएपछि उद्योगीहरू उत्पादन नै रोक्न बाध्य भएका हुन् ।
नेपाल चिया उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतीय पक्षले लागू गरेको नयाँ एसओपीका कारण इलामका ५३ वटा अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि नै बन्द भइसकेका छन् । झापाका उद्योगहरू पनि क्रमशः बन्द हुने अवस्थामा पुगेका उनले बताए ।
नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार १२ देखि १४ अर्ब रुपैयाँ बराबरको रहेको छ । यसमध्ये करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने गरेको छ, जसबाट मुलुकले महत्वपूर्ण विदेशी मुद्रा आर्जन गर्दै आएको छ ।
उद्योगीहरूका अनुसार नयाँ एसओपीले गुणस्तर परीक्षण, भण्डारण तथा अन्य प्रशासनिक प्रक्रियालाई थप जटिल बनाएको छ । त्यसका कारण डेढ महिनादेखि नेपालबाट भारततर्फ चिया निर्यात हुन सकेको छैन । निर्यातका लागि तयारी अवस्थामा रहेका चियासमेत भारतीय खरिदकर्ताका गोदाममा थन्किएका छन् ।
अध्यक्ष पराजुलीका अनुसार भन्सार प्रक्रिया पूरा भइसकेको चियासमेत भारतीय पक्षले सहज रूपमा प्रवेश अनुमति नदिँदा उद्योगीहरू आर्थिक संकटमा परेका छन् ।
समस्या समाधान नभए चिया उद्योग क्षेत्रमै गम्भीर असर पर्ने र हजारौं श्रमिक बेरोजगार बन्ने जोखिम रहेको उद्योगीहरूको चेतावनी छ ।उद्योगीहरूले नेपाल र भारतका सम्बन्धित निकायबिच तत्काल कूटनीतिक तथा व्यापारिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन माग गरेका छन् ।

















