शिवसताक्षी– अपाङ्गता भएका व्यक्तिका परिवारलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले झापाको शिवसताक्षी नगरपालिका मा अग्र्यानिक नुहाउने साबुन तथा बुके बनाउने तालिम सुरु गरिएको छ ।
मंगलबार शिवसताक्षी–७ चन्द्रडाँगीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत नगरपालिकाको आयोजनामा अपाङ्गता भएका व्यक्तिका परिवारका सदस्यलाई लक्षित गर्दै तालिमको शुभारम्भ गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै नरमाया कार्की ले अपाङ्गता भएका व्यक्तिका परिवारले विभिन्न सामाजिक तथा आर्थिक चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै उनीहरूलाई आयआर्जनसँग जोड्न सीपमूलक तालिम सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले अपाङ्गता भएका व्यक्तिका परिवार आर्थिक रूपमा कमजोर अवस्थामा रहेको र दैनिक जीवन सञ्चालनमा कठिनाइ भोग्नुपरेको भन्दै यस्ता तालिमले स्वरोजगार बन्न तथा आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बुके बनाउने तालिमको उद्घाटन कार्यक्रममा सुनिता तुम्बाहाङ्फे ले तालिमलाई सिकाइमा मात्र सीमित नराखी व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
उहाँले व्यक्तिगत वा सामूहिक रूपमा उद्यम सञ्चालन गरी आम्दानीको स्रोत विस्तार गर्न सकिने बताउँदै सिकेको सीपलाई व्यवसायिक रूपमा प्रयोग गर्न सके आर्थिक सशक्तीकरण र आत्मविश्वास वृद्धि हुने धारणा राख्नुभयो ।
अपाङ्गता रोकथाम तथा समावेशी अपाङ्गता शिवसताक्षीका अध्यक्ष रमेश भण्डारी का अनुसार दुवै तालिम १५ दिनसम्म सञ्चालन हुनेछ ।
तालिम अवधिमा सहभागीलाई अग्र्यानिक नुहाउने साबुन उत्पादन, प्याकेजिङ, बजार व्यवस्थापन तथा आकर्षक बुके निर्माणसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिनेछ ।
नगरपालिकाले सञ्चालन गरेको यस कार्यक्रमबाट अपाङ्गता भएका व्यक्तिका परिवारलाई आर्थिक रूपमा सक्षम बनाउँदै उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।
स्थानीय स्तरमै सीप र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमप्रति सहभागीहरू उत्साहित देखिएका छन् ।
कार्यक्रम वडा नं. ७ का वडाध्यक्ष भवानी चेम्जोङ को अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन नगरपालिकाका कर्मचारी सन्दिप निरौला ले गर्नुभएको थियो ।
















