२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

बिर्तामोडमा दुईदिने रोजगार मेला हुँदै



बिर्तामोड– बिर्तामोड नगरपालिकाले आगामी जेठ ३० र ३१ गते दुईदिने रोजगार मेला आयोजना गर्ने भएको छ । नगरपालिकाको आयोजनामा तथा बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा हुने मेलामा रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिलाई एकै थलोमा जोड्ने लक्ष्य राखिएको छ ।

मेलाको तयारी तथा प्रभावकारिताबारे शुक्रवार आयोजित छलफल कार्यक्रममा मेलाका सहजकर्ता सेवक बजगाईले रोजगारदाता र रोजगार खोज्ने व्यक्तिबिच सेतुको काम गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार मेलामा विभिन्न उद्योग, व्यवसाय तथा कम्पनीका २५ वटा स्टल रहनेछन् भने २ हजारभन्दा बढी युवाको सहभागिता रहने अपेक्षा गरिएको छ ।

नगरपालिकाका अनुसार १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षित, अशिक्षित, दक्ष तथा अदक्ष सबै नागरिकले मेलामा सहभागिता जनाउन सक्नेछन् ।

विशेषगरी औपचारिक शिक्षा पूरा गरेका युवा, विभिन्न सीप हासिल गरेका व्यक्ति, वैदेशिक रोजगारीबाट फर्किएका सीपयुक्त जनशक्ति तथा अतिरिक्त समयमा काम गर्न इच्छुक व्यक्तिलाई मेलाले अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले रोजगारदाताले आवश्यकताअनुसारको जनशक्ति र बेरोजगारले आफ्नो योग्यता तथा सीपअनुसारको अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।

छलफलमा सहभागी उद्योगी तथा व्यवसायीहरूले स्थानीय स्तरमा आवश्यक दक्ष जनशक्ति अभाव हुँदा बाहिरबाट कामदार ल्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै रोजगार मेलाले स्थानीय जनशक्ति र रोजगारबीचको दूरी घटाउन सहयोग पुग्ने धारणा राखे ।

छलफलमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी सन्तोष पाठक, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओम बिमली, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठलगायतको सहभागिता थियो ।

नगरपालिकाले रोजगार मेला बिर्तामोडस्थित अतिथि सदनमा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार ००:००  ९ : ५६ बजे