२० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026

व्यवसायी राहत कोषमा निरौलाको तेस्रो योगदान



झापा- बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा संघका कोषाध्यक्ष तथा युवा व्यवसायी युवराज निरौलाले तेस्रोपटक आर्थिक सहयोग गरेका छन् ।

आफ्नो जन्मदिनको अवसरमा निरौलाले कोषका लागि ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका हुन् । यसअघि पनि जन्मदिनकै अवसर पारेर दुई पटक सहयोग गरिसकेका उनले यसवर्ष पनि सोही रकम उपलब्ध गराउँदै राहत कोष प्रतिको प्रतिबद्धता दोहोर्‍याएका छन् ।

उद्योगी-व्यवसायीलाई आपत्–विपत्, दुर्घटना तथा अन्य आकस्मिक अवस्थामा राहत उपलब्ध गराउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले ‘व्यवसायी सदस्य राहतकोष’ स्थापना गरेको हो ।

संघका अध्यक्ष राजु न्यौपाने नेतृत्वको कार्यसमितिले कोषलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न एक करोड रुपैयाँको अक्षय कोष निर्माण गर्ने योजना अघि सारेको छ ।

कोष सञ्चालन तथा व्यवस्थापनका लागि संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’को संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ । समितिले कोषमा आर्थिक स्रोत संकलन, व्यवस्थापन तथा आवश्यकताअनुसार राहत वितरण गर्ने जिम्मेवारी पाएको छ ।

संघका महासचिव कुशल खतिवडाका अनुसार राहतकोष स्थापना भएपछि पहिलो आर्थिक सहयोगकर्ता पनि निरौला नै हुन् । उनले प्रारम्भमा ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्दै कोषको शुभारम्भ गराएका थिए ।

संघले राहत कोषलाई उद्योगी–व्यवसायीबीचको सहकार्य, सद्भाव र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिँदै सबै सदस्य तथा शुभेच्छुकलाई सहयोगका लागि आग्रह गरेको छ ।

पर्याप्त रकम संकलन भएपछि दुर्घटना, बिरामी, प्राकृतिक विपत्ति तथा अन्य आकस्मिक समस्यामा परेका सदस्य व्यवसायीलाई राहत उपलब्ध गराउने योजना संघको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार ००:००  ४ : २६ बजे