८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

बिर्तामोडमा २ लाख राशिको स्नुकर प्रतियोगिताको तयारी



झापा– बिर्तामोडमा मोफसलकै ठूलो पुरस्कार राशिको स्नुकर प्रतियोगिता आयोजना हुने भएको छ । बिर्तामोड स्नुकरको आयोजना तथा बिर्तामोड नगर खेलकुद विकास समितिको सहआयोजनामा आगामी असार ४ गतेदेखि ‘बिर्तामोड मेयर कप नेपाल मास्टर–२०८३’ सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा राष्ट्रिय स्तरका १६ तथा कोशी प्रदेशका १६ खेलाडी सहभागी हुने खेलकुद विकास समितिका सदस्य विशाल अग्रवालले जानकारी दिए । सहभागीमध्ये ८ जना खेलाडी बिर्तामोडकै रहने जनाइएको छ ।

बिर्तामोडको अदुवा पुल नजिक रहेको बिर्तामोड स्नुकर हलमा सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उपविजेतालाई १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकमध्येका नवल अग्रवालका अनुसार काठमाडौंबाहिर आयोजित स्नुकर प्रतियोगितामध्ये यो सबैभन्दा ठूलो पुरस्कार राशिको हो ।

प्रतियोगितामा ‘हाइएस्ट ब्रेक’ गर्ने खेलाडीलाई ३५ हजार रुपैयाँ तथा ‘सेन्चुरी ब्रेक’ गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

स्थानीय स्तरमा ओझेलमा पर्दै गएको स्नुकर खेलको संरक्षण, प्रवर्द्धन तथा खेलाडीलाई प्रतिस्पर्धात्मक बनाउन प्रतियोगिता आयोजना गरिएको बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीले बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार ००:००  ८ : ०२ बजे