२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

सिम्रिकका १७५ सदस्यलाई धार्मिक तथा पर्यटकीय भ्रमण



झापा– सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना १७५ सदस्य तथा कर्मचारीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराएको छ ।

संस्थाले १६४ जना सेयर सदस्य र ११ जना कर्मचारीलाई सहभागी गराई वैशाख २० गतेदेखि सुरु गरेको भ्रमण शुक्रबार सकिएको हो । सदस्यको लागत सहभागितामा गरिएको भ्रमणमा विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यको अवलोकन गराइएको छ ।

बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाले कोशी प्रदेशअन्तर्गत झापा, पाँचथर, मोरङ र इलामका ४४ सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ ।

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतका अनुसार उत्कृष्ट सदस्यलाई प्रत्येक वर्ष पालैपालो धार्मिक तथा पर्यटकीय भ्रमण गराउने गरिएको छ ।

भ्रमणमा सहभागी सदस्यको सुविधाका लागि यस वर्ष दर्शन नेपाल ट्राभल्स एण्ड टुर्सलाई यातायात, भोजन तथा आवास व्यवस्थापनको जिम्मा दिइएको बस्नेतले बताए । भ्रमणमा सहभागी सबै १७५ जनाको यात्रु बीमा पनि गरिएको थियो ।

दर्शन नेपालका दुईसहित छवटा यात्रुवाहक बसमार्फत सञ्चालन गरिएको भ्रमणका क्रममा जनकपुरधाम, देवघाटधाम, पोखराका पुम्दीकोट, डेभिड फल्स, गुप्तेश्वर महादेव, महेन्द्र गुफा, फेवाताल, तालबाराही मन्दिर र बिन्दबासिनी मन्दिरको अवलोकन गराइएको सहभागीले बताएका छन् ।

मुक्तिनाथ धाम जाने क्रममा बागलुङ कालिका मन्दिर, बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल, गलेश्वर महादेव, तातोपानी, मार्फागाउँ र जेरीगल्लीको समेत अवलोकन गराइएको सहभागी नरेन्द्रप्रकाश सिटौलाले बताए।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार ००:००  ६ : ५१ बजे