झापा-९६ औँ समाज सुधार दिवसको अवसरमा झापाको बिर्तामोडमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । किरात याक्थुङ चुम्लुङ बिर्तामोडको आयोजनामा बिर्तामोड नगरपालिका-४ स्थित मुक्ति चोकमा बिहिवार साँझ कार्यक्रम गरिएको हो ।
समाज सुधारक महागुरु फाल्गुनन्दले प्रतिपादन गरेको सत्य धर्म मुचुल्का (धार्मिक घोषणापत्र) निर्माण तथा घोषणा दिवसको स्मरणमा दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा किरात समुदायका अगुवा र स्थानीयवासीको सहभागिता रहेको थियो । सहभागीहरूले समाज सुधार, मानव एकता र धार्मिक सहिष्णुताको सन्देश फैलाउन यस्ता कार्यक्रमले योगदान पुग्ने बताएका छन् ।
विसं १९८८ साल वैशाख २४ गते सत्य धर्म मुचुल्का घोषणा गरिएको थियो । सोही ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष समाज सुधार दिवस मनाइँदै आएको छ ।
















