२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

बालक्लबका पदाधिकारीलाई प्रतिवेदन लेखन तालिम



बिर्तामोड-बिर्तामोड नगरपालिका–१ मा बालक्लबका पदाधिकारीहरूलाई लक्षित गरी प्रतिवेदन लेखनसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।

आदर्श बालक्लबका २९ जना बालबालिकाको सहभागितामा आयोजित तालिममा प्रतिवेदन लेखनसँगै सामाजिक सञ्जालको प्रयोग, लागूपदार्थ दुर्व्यसन तथा व्यक्तिगत घटना दर्ताजस्ता विषय समेटिएको वडासचिव जानुका बस्नेतले जानकारी दिइन् ।

तालिममा चेतना नेपालका सञ्चालक इन्द्रप्रसाद ओली र प्रेमकुमार सेडाईले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा वडाध्यक्ष तथा नगर प्रवक्ता अग्निप्रसाद पाण्डेले बालबालिकालाई नेतृत्वका लागि आवश्यक ज्ञान दिन यस्ता तालिम उपयोगी हुने बताए ।

आगामी वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने र योजना निर्माणमा बालबालिकाको सहभागिता गराउने उनको प्रतिबद्धता थियो । सहभागी सुलभ कार्की र तपस्या प्रसाईंले तालिम प्रभावकारी रहेको र सिकेका कुरा व्यवहारमा उतार्ने बताएका थिए ।

क्रियाशीलताका आधारमा सहभागीमध्ये तपस्या प्रसाईं प्रथम, आर्या पाण्डे द्वितीय, सायुमा लिम्बु तृतीय र जोशना कार्की सान्त्वना भएका छन् ।

आदर्श बालक्लबका अध्यक्ष न्युसन थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगर कार्यपालिका सदस्य यमुना आचार्य, पूर्व वडासदस्य प्रेमप्रसाद खरेल लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार ००:००  ७ : ४६ बजे