झापा– पूर्वी नाका काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा ७ हजार ६४२ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२८ ले कम हो।
अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार साउनदेखि चैतसम्म ८१ मुलुकका पर्यटकले यो नाका प्रयोग गरेका छन्। कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार सबैभन्दा धेरै ४ हजार १५४ भुटानी पर्यटक नेपाल आएका छन्।
भुटानपछि अमेरिकाबाट १ हजार ६१२, थाइल्यान्डबाट ५२५, अस्ट्रेलियाबाट २२९ र बेलायतबाट १८२ पर्यटक नेपाल भित्रिएका छन्। उनीहरूले काठमाडौं, पोखरा, लुम्बिनी, चितवन र गोरखालगायतका गन्तव्य रोज्ने गरेका छन्।
सोही अवधिमा यही नाका हुँदै ९ हजार ९४२ पर्यटक नेपालबाट बाहिरिएका छन्। चैत महिनामा मात्रै १ हजार ६ पर्यटक नेपाल प्रवेश गरेका छन् भने १ हजार ५४३ जना बाहिरिएका छन्।
कार्यालयका अनुसार नौ महिनामा विभिन्न प्रकारका ६ हजार ८७७ भिसा जारी गर्दा २ करोड ८० हजार ५२० रुपैयाँ राजस्व संकलन भएको छ।
















