भद्रपुर– सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब झापाको भद्रपुरमा जारी चन्द्रगढी महिला गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार भएको खेलमा ओखलढुंगाको पदमा स्पोर्ट्स क्लबलाई ६-० ले पराजित गर्दै एपिएफले अन्तिम आठमा स्थान बनाएको हो। अब एपिएफले क्वार्टरफाइनलमा संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो हाफमा १-० को अग्रता बनाएको एपिएफले दोस्रो हाफमा पाँच गोल थप्दै एकतर्फी जित निकालेको थियो। खेलको २८औँ मिनेटमा कप्तान अनिता बस्नेतको पासमा रश्मिकुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन्।
दोस्रो हाफको सुरुआतमै घिसिङले व्यक्तिगत दोस्रो गोल गरिन्। त्यसको एक मिनेटपछि रेनुका नगरकोटीले तेस्रो गोल थपिन्। ५२औँ मिनेटमा रश्मिले ह्याट्रिक पूरा गरिन् भने ५४औँ मिनेटमा अनिता केसीले अर्को गोल गरिन्। ५६औँ मिनेटमा रश्मिले व्यक्तिगत चौथो गोल गर्दै एपिएफको जित फराकिलो बनाइन्।
पदमा स्पोर्ट्सले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। ५४औँ मिनेटमा पुष्पा खड्काले गरेको प्रहार एपिएफकी गोलकिपर अञ्जना राना मगरले बचाएकी थिइन्।
चार गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ खेलको उत्कृष्ट खेलाडी घोषित भइन्। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरिन्।
बुधबार हुने अर्को क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र भारतको रानी लक्ष्मीबाई स्पोर्ट्स एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।
















