भद्रपुर– उपाधिको दाबेदार मानिएको नेपाल पुलिस क्लबले चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगितामा आयोजक चन्द्रगढी युवा क्लबलाई ६-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
भद्रपुरस्थित मेची रंगशालामा सोमबार भएको खेलमा पुलिसको जितमा रेखा पौडेलले ह्याट्रिक गरिन् । मिना देउवाले दुई तथा अनुष्का शेर्पाले एक गोल थपिन् । अब पुलिसले क्वार्टरफाइनलमा भारतको रानी लक्ष्मीबाई स्पोर्ट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।
पुलिसले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो । मिना देउवाको हेडरलाई सदुपयोग गर्दै रेखाले गोल गरेकी हुन् । त्यसपछि १७ औं मिनेटमा देउवाले गोल गर्दै अग्रता दोब्बर पारिन् ।
२९ औं मिनेटमा सम्झना लावतीको पासमा देउवाले व्यक्तिगत दोस्रो गोल गरिन् । ३८ औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै पुलिसलाई ४-० को सहज अवस्थामा पुर्याइन् ।
दोस्रो हाफमा पनि पुलिसको दबाब कायम रह्यो । ७२ औं मिनेटमा रेखाको पासमा अनुष्का शेर्पाले गोल गरिन् । ७७ औं मिनेटमा मिना देउवाको पासमा हेडमार्फत गोल गर्दै रेखाले प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरिन् ।
कमजोर प्रदर्शन गरेको चन्द्रगढीले पहिलो हाफको अतिरिक्त समयमा सान्त्वना गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । पुलिसकी गोलकिपर उषा नाथको हातबाट फुत्किएको बललाई चन्द्रगढीकी रेखा बिष्टले पोस्टको दिशा दिन सकिनन् ।
ह्याट्रिक गरेकी पुलिसकी रेखा पौडेल खेलको उत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरिन् । मंगलबार हुने अर्को खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र ओखलढुंगाको पदमा स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँसहित ट्रफी तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । महिला फुटबलमा यो पुरस्कार राशि नेपालकै सर्वाधिक मानिएको छ ।
















