६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

सरकारी कर्मचारीलाई महिनामा दुई पटक तलब दिने निर्णय



काठमाडौँ– सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब अब अर्धमासिक रूपमा वितरण गर्ने तयारी अघि बढाएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै कर्मचारीको तलब सुविधा महिनामा दुई किस्तामा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालद्वारा हस्ताक्षरित पत्रमा हाल मासिक रूपमा हुँदै आएको तलब भुक्तानीलाई अब अर्धमासिक रूपमा उपलब्ध गराउने व्यवस्था सुरु गर्न भनिएको छ। मन्त्रालयले यससम्बन्धी आवश्यक तयारी गरी कार्यान्वयनमा लैजान महालेखा नियन्त्रक कार्यालयलाई अनुरोध गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेको निर्णयअनुसार सरकारी कर्मचारीले अब महिनाको एक पटक होइन, दुई पटक तलब पाउने व्यवस्था लागू हुने जनाइएको छ। यसले कर्मचारीलाई मासिक खर्च व्यवस्थापनमा सहजता पुग्ने अपेक्षा गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्रालयका अनुसार नयाँ व्यवस्था लागू भएपछि प्रत्येक महिनाको मध्य र अन्तिम साता तलबको आधा-आधा रकम कर्मचारीको खातामा जम्मा गरिनेछ।

सरकारले कर्मचारीमैत्री वित्तीय व्यवस्थापनलाई प्राथमिकता दिँदै यस्तो निर्णय गरेको हो। नयाँ प्रणाली कार्यान्वयनको मिति भने महालेखा नियन्त्रक कार्यालयले आवश्यक तयारीपछि सार्वजनिक गर्ने जनाइएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार ००:००  ९ : ५४ बजे