बिर्तामोड– नेपाली कांग्रेस झापाले ‘जरा अभियान’ प्रभावकारी बनाउन वैशाख १२ गतेदेखि क्षेत्रस्तरीय कार्यक्रम सञ्चालन गर्ने भएको छ। जिल्ला कार्यसमितिको वैशाख ५ गते बसेको विस्तारित बैठकले झापाका पाँचवटै निर्वाचन क्षेत्रमा प्रविधिमैत्री अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार वैशाख १२ गते क्षेत्र नम्बर १ र २, वैशाख १३ गते क्षेत्र नम्बर ३ र ४ तथा वैशाख १४ गते क्षेत्र नम्बर ५ मा अभिमुखीकरण कार्यक्रम आयोजना गरिनेछ।
जिल्ला सभापति देउकुमार थेवेको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय प्रतिनिधि बसन्त भट्टराई र रुद्रबहादुर कन्दङ्वाको उपस्थिति रहेको थियो। बैठकले प्रत्येक क्षेत्रमा जिल्ला प्रतिनिधिसमेत तोकेको छ।
क्षेत्र नम्बर १ मा उपसभापति केशवराज पाण्डे, क्षेत्र नम्बर २ मा सचिव कृष्ण हुमागाईं र कोषाध्यक्ष जलकुमार गुरुङ, क्षेत्र नम्बर ३ मा सचिव नवीन विमली र सहसचिव कालेन्द्रप्रसाद सिंह राजवंशी, क्षेत्र नम्बर ४ मा सभापति थेवे र सहसचिव कमलप्रसाद भण्डारी तथा क्षेत्र नम्बर ५ मा उपसभापति शेरबहादुर भट्टराईलाई जिल्ला प्रतिनिधि तोकिएको छ।
क्षेत्रगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएपछि वडास्तरमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यतालिका सार्वजनिक गरिने कांग्रेस झापाले जनाएको छ।
क्रियाशील सदस्यता अद्यावधिकका लागि डिजिटल प्लेटफर्म सञ्चालन गर्न नेविसंघ र तरुण दलबाट जनशक्ति परिचालन गर्ने निर्णय गर्दै उपसभापति केशवराज पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरिएको छ।
उपसमितिको सदस्य सचिवमा कृष्ण हुमागाईं रहेका छन् भने सदस्यमा लोकराज ढकाल, पुष्प पौडेल, सजेश शिवाकोटी र सञ्जय निरौला रहेका छन्।
















