४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

भर्ना र पठनपाठन आफ्नै निर्णय अनुसार गर्न स्थानीय तहलाई सर्कुलर



झापा– नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले शिक्षा मन्त्रालयको निर्देशनभन्दा फरक ढंगले विद्यार्थी भर्ना र पठनपाठन सञ्चालन गर्न स्थानीय तहलाई सर्कुलर जारी गरेका छन्।

संघका अध्यक्ष भीमप्रसाद ढुंगाना र महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शुक्रबार संयुक्त रूपमा जारी गरेको सर्कुलरमा संविधानअनुसार विद्यालय शिक्षासम्बन्धी अधिकार स्थानीय तहमा निहित रहेकाले सोहीअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्न भनिएको छ ।

मन्त्रालयले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न र वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्न निर्देशन दिएको छ। तर, स्थानीय तहहरूले आफ्नो कानुन, स्थानीय आवश्यकता र अभिभावकसँगको परामर्शका आधारमा भर्ना प्रक्रिया अघि बढाई पठनपाठन सञ्चालन गर्न सक्ने सर्कुलरमा उल्लेख छ।

‘विद्यालय शिक्षा सञ्चालनसम्बन्धी जिम्मेवारीअनुसार स्थानीय तहले गर्ने असल कार्यमा कुनै कानुनी अवरोध नहुनेतर्फ विश्वस्त रहन आग्रह गर्दछौं,’ सर्कुलरमा भनिएको छ।

ढुंगाना र पाण्डेले केन्द्रीय सरकारको निर्णय अव्यवहारिक देखिएको उल्लेख गर्दै शैक्षिक सत्र ढिलो सुरु गर्ने र आइतबारसमेत बिदा दिने व्यवस्थाले विद्यालय सञ्चालनको समय थप खुम्चिने बताएका छन्।

यसअघि केही स्थानीय तहले वैशाख २ गतेदेखि नै विद्यार्थी भर्ना सुरु गर्ने र वैशाख २१ अगावै कक्षा सञ्चालन गर्ने निर्णय गरिसकेका छन्।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार ००:००  ४ : ०३ बजे