वीरगन्ज- वीरगन्जमा एक प्रहरी जवानको हत्या प्रकरणमा प्रहरीले एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार २७ वर्षीय प्रहरी जवान विकास चौरसियाको आइतबार साँझ कुटपिटबाट मृत्यु भएको हो । बिदामा घर आएका उनी वीरगन्ज-९ श्रीपुरस्थित एक कोठामा पुगेका बेला विवादमा परेका थिए ।
प्रहरीका अनुसार चौरसिया र एक महिलाबीच पहिलेदेखिको चिनजान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोही क्रममा भएको विवादले झडपको रूप लिँदा उनलाई रड प्रहारसहित कुटपिट गरिएको बताइएको छ ।
गम्भीर घाइते चौरसियालाई उपचारका लागि नारायणी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको भन्दै व्यक्तिगत सम्बन्ध र विवादको पृष्ठभूमि के थियो भन्नेबारे थप अनुसन्धान केन्द्रित गरिएको जनाएको छ ।
















