बिर्तामोड– नेपाली कांग्रेस झापाले दुई सातायता परेको बेमौसमी वर्षाका कारण किसानले लगाएको अन्नबाली, फलफूल तथा घर–टहरामा पुगेको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला सभापति देउकुमार थेवेले मंगलबार विज्ञप्ति जारी गर्दै मुख्यतः झापा, बाह्रदशी, कचनकबल, गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकामा बढी क्षति पुगेको उल्लेख गरेका छन् ।
‘किसानले लगाएको गहुँबाली उठाउनै नसक्ने अवस्था छ भने मकैबालीमा असिना पानीका कारण पूर्ण क्षति पुग्दा करोडौं लगानी डुब्ने अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ।
हावाहुरी र वर्षाबाट भएको क्षति न्यूनीकरणका उपाय अपनाउँदै हालसम्मको क्षतिको यथार्थ मूल्यांकन गरी किसानलाई राहत उपलब्ध गराउन स्थानीय, प्रदेश र संघीय सरकारसँग माग गरिएको छ ।
आगामी खेतीको समय नजिकिँदै गएकाले किसानलाई उन्नत जातको बीउ र रासायनिक मल समयमै उपलब्ध गराउन पनि सरकारसँग जोडदार आग्रह गरिएको छ ।















