२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

झापामा पत्रकारिता शुद्धीकरण बहस : ज्येष्ठ पत्रकारलाई औषधोपचार खर्च



काँकरभिट्टा– नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसका अवसरमा झापामा पत्रकारिताको शुद्धीकरण र सुदृढीकरणबारे बहससहित ज्येष्ठ पत्रकारलाई औषधोपचार खर्च वितरण गरिएको छ।

नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना तथा मेचीनगर नगरपालिकाको सहकार्यमा सोमबार काँकरभिट्टामा आयोजित कार्यक्रममा ‘झापा संकल्प–पत्र २०८२’ पारित गरिएको हाे ।

महासंघका अध्यक्ष एकराज गिरीका अनुसार संकल्पपत्रमा पत्रकार आचारसंहिताको पूर्ण पालना, पेशागत शुद्धता, क्षमता अभिवृद्धि, व्यवसायीकरण र जवाफदेहितालगायतका विषय समेटिएका छन् ।

कार्यक्रम कोशी प्रदेश अध्यक्ष भरतबहादुर खड्काले उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारी, प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, महासंघ झापाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल र गणेश पोखरेल, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार तथा प्रेस युनियन झापाका सचिव अर्जुन राजवंशीलगायतले पत्रकारितालाई मर्यादित र विश्वसनीय बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

महासंघका उपाध्यक्ष सुब्रत न्यौपानेले ज्येष्ठ पत्रकारहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै औषधोपचार खर्च उपलब्ध गराइएको बताए । उनका अनुसार पत्रकार सहारा उपचार कोषको ब्याजबाट ६५-७५ वर्ष उमेर समूहका पत्रकारलाई वार्षिक १५ हजार र सोभन्दा माथिका पत्रकारलाई २० हजार रुपैयाँ औषधोपचार खर्च प्रदान गरिँदै आएको छ ।

औषधोपचार खर्च प्राप्त गर्ने ज्येष्ठ पत्रकारहरूमा गोविन्द चन्द क्षेत्री, केशव आचार्य, चिन्तामणि दाहाल, चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लक्ष्मण ढकाल, शिरो सान्दाई, विष्णुकुमार भट्टराई, चुडामणि वशिष्ठ, लेखनाथ परदेशी, लीला बराल, गोपाल गिरी र लक्ष्मी लुइँटेल रहेका छन् ।

ज्येष्ठ पत्रकार लुइँटेललाई थप २५ हजार रुपैयाँ उपचार सहयोग समेत प्रदान गरिएको छ । केही समयअघि बिरामी परेका लुइटेलको शल्यक्रिया गरिएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा अन्तरक्रिया आयोजना गरी पत्रकारिताको सुधारका विषयमा सुझाव संकलन गरिएको थियो। पूर्व अध्यक्ष मोहन काजीको संयोजकत्वमा तयार पारिएको संकल्पपत्र सहभागीको सुझावअनुसार परिमार्जनसहित पारित गरिएको जनाइएको छ।

कार्यक्रममा विभिन्न सञ्चारकर्मी तथा सरोकारवालाले पत्रकारितामा देखिएका चुनौती, पेशागत अनुशासन र गुणस्तर सुधारका उपायबारे धारणा राखेका थिए।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार ००:००  ७ : ३४ बजे