४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

झिलझिलेको ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालनमा




शिवसताक्षी– झापाको झिलझिलेमा अवस्थित ‘वाटर किङ्गडम पार्क’ नयाँ व्यवस्थापन र आकर्षक संरचनासहित पुनः सञ्चालनमा आएको छ। केही समय सुस्ताएको पार्क अहिले पुनः सक्रिय बन्दै पर्यटक तथा सेवाग्राहीको ध्यान आकर्षित गर्न थालेको छ।

२०७८ पुस २५ गते उद्घाटन गरिएको यो पार्क प्रारम्भिक चरणमै लोकप्रिय बने पनि कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण उत्पन्न आर्थिक संकटले सञ्चालनमा चुनौती थपेको थियो। महामारीपछि वित्तीय दबाब बढ्दै जाँदा पार्क केही समयका लागि बन्दसमेत गर्नुपरेको थियो।

पार्कका सञ्चालक तथा स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाका अनुसार हालसम्म यस परियोजनामा ६५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। “ठूला सपना बोकेर सुरु गरिएको परियोजना कोरोना र त्यसपछिको आर्थिक संकटका कारण प्रभावित भयो,” उहाँले भन्नुभयो, “तर अब बिस्तारै अवस्था सुधार हुँदै गएको छ।”

उहाँका अनुसार कोरोनाकालमा बैंकबाट लिएको ऋणको ब्याजदर १८ प्रतिशतसम्म पुग्दा व्यवसाय थप दबाबमा परेको थियो। अहिले बैंकिङ प्रणाली सहज बन्दै गएपछि आगामी वैशाखदेखि पार्कलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरिएको छ।

सञ्चालक सङ्ग्रौलाले पार्क बन्द भएको भन्ने हल्लाले पनि व्यवसायमा असर परेको उल्लेख गर्दै त्यस्तो अवस्था नरहेको स्पष्ट पार्नुभयो। “पार्क अहिले सञ्चालनमै छ, सबै सेवा पुनः सुरु गरिसकेका छौं,” उहाँले भन्नुभयो।

हाल पार्कभित्रका सबै मनोरञ्जनात्मक संरचनाहरू सञ्चालनमा ल्याइएको छ। यहाँ जिपलाइन, वेभ पुल, स्विमिङ पुल, बालबालिकाका लागि किड्स पुल, वाटर एक्टिभिटी स्टेशन, कृत्रिम गुफा तथा आकर्षक मूर्तिकलाहरू मुख्य आकर्षणका रूपमा रहेका छन्।

यसका साथै विवाह, ब्रतबन्ध, पार्टी तथा विभिन्न पारिवारिक कार्यक्रम आयोजना गर्न विशेष व्यवस्था गरिएको छ। सञ्चालकका अनुसार घरमै कार्यक्रम गर्दा लाग्ने खर्चकै हाराहारीमा पार्कभित्र सहज र व्यवस्थित रूपमा कार्यक्रम सम्पन्न गर्न सकिन्छ।

तीन बिघा क्षेत्रफलमा फैलिएको यस पार्कमा पर्यटकीय आवास तथा आतिथ्य सेवाका लागि सात वटा भूकम्पप्रतिरोधी भवन निर्माण गरिएका छन्। त्यस्तै, दुई वटा सुविधा सम्पन्न रेस्टुरेन्ट, ३५ वटा आधुनिक आवासीय कोठा तथा १५० देखि ४०० जनासम्म अट्ने चार वटा सभाहल सञ्चालनमा रहेका छन्।

निजी क्षेत्रको लगानीमा निर्माण भएको कोशी प्रदेशकै ठूलो परियोजनामध्ये एक मानिएको ‘वाटर किङ्गडम पार्क’ले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार ००:००  ७ : ४९ बजे