काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य समायोजन गरेको हो। बढेको मूल्य राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ।
नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।
दोस्रो वर्गमा पर्ने दाङ र सुर्खेतमा पेट्रोल १७१ रुपैयाँ तथा डिजेल–मट्टीतेल १५१ रुपैयाँ कायम भएको छ।
पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा तथा डिजेल-मट्टीतेल १४९ रुपैयाँ ५० पैसा तोकिएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण पेट्रोलियम पदार्थको मूल्य बृद्धि बाध्यता भएको हो।
निगमले जारी गरेको विज्ञप्तिमा मूल्य समायोजनबाट उपभोक्तामा पर्न सक्ने प्रभावप्रति आफूहरू संवेदनशील रहेको उल्लेख गरिएको छ।


















