१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

शैक्षिक उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै तक्षशिला महोत्सव



झापा– तक्षशिला प्रोग्रेसिभ इंग्लिस स्कूलले ८०० भन्दा बढी विद्यार्थी संख्या पार गरेको ऐतिहासिक अवसरमा “तक्षशिला महोत्सव ३.०” भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयले नवप्रवर्तन, विश्वस्तरीय शिक्षा र शैक्षिक उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष दुर्गा प्रसाई प्रमुख अतिथि तथा बी एण्ड सी मेडिकल कलेज टिचिङ अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. बलभद्र प्रसाद दास विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो ।

कार्यक्रममा अभिभावक, विद्यार्थी तथा विभिन्न विशिष्ट व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।महोत्सवको अवसरमा विद्यालयले इन्टरनेशनल ब्याकलोरियट (IB) क्यान्डिडेसी सुरु भएको घोषणा गरेको छ‌ ।

द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड कार्यक्रम पनि प्रारम्भ गरिएको छ । साथै इन्टरनेशनल एजुकेशन ओलम्पियाड (IEO) का उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा रोबोटमार्फत अतिथिलाई खादा अर्पण, ड्रोनबाट पुष्पवृष्टि तथा रोबोटद्वारा जुस सेवा जस्ता प्रविधिमैत्री गतिविधि प्रस्तुत गरिएको थियो ।

विद्यालयका विद्यार्थी र एआई टोलीको सहकार्यमा यी गतिविधि सम्पन्न गरिएको बताइएको छ । महोत्सवमा वर्ल्ड स्कूल समिट (WSS) अवार्ड हस्तान्तरण गरिएको थियो भने विज्ञान प्रदर्शनीमार्फत विद्यार्थीहरूले इन्फिनिटी मिरर, रेन डिटेक्सन सिस्टम, थ्रीडी प्रिन्टिङ, ३६० डिग्री क्यामेरा र ड्रोन प्रविधि जस्ता परियोजनाहरू प्रदर्शन गरेका थिए ।

विद्यालयका एकेडेमिक डाइरेक्टर डा. विक्टर इग्नाटियस जोसेफको नेतृत्वमा संस्थाले तीन वर्षको सफल यात्रा पूरा गर्दै नवप्रवर्तन र विश्वस्तरीय शिक्षातर्फ अघि बढिरहेको जनाएको छ । महोत्सवअघि आयोजित वार्षिक खेलकुद कार्यक्रमले पनि विद्यार्थीहरूको प्रतिभा र उत्साह झल्काएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार ००:००  १० : ४९ बजे