२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

एमाले अध्यक्ष ओलीलाई पितृशोक, बुवा मोहनप्रसाद ओलीको ९७ वर्षमा निधन



काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ ।

पछिल्ला केही दिनदेखि अस्वस्थ रहेका मोहनप्रसाद ओलीको शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारका क्रममा निधन भएको एमाले स्रोतले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति अस्पताल भर्ना गरिएको थियो । स्रोतका अनुसार उनको पार्थिव शरीर भक्तपुरको गुण्डुस्थित ओली निवासमा लगिनेछ।

अन्त्येष्टि भने शुक्रबार दिउँसो पशुपति आर्यघाटमा गर्ने तयारी गरिएको छ। मोहनप्रसाद ओली केही समयदेखि गठ्ठाघरस्थित छोरीको घरमा बस्दै आएका थिए ‌।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा झापास्थित ओली परिवारको घरमा आगजनी भएको थियो। त्यसयता उनी झापा जान सकेका थिएनन् । यसअघि भने उनी बेलाबेलामा झापास्थित आफ्नो घरमा आउने जाने गर्थे।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार ००:००  ८ : ४९ बजे