२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार



झापा : पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार गरिएको छ। उनीहरूलाई भारत लैजान खोजेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टा र आफन्त नेपाल को संयुक्त टोलीले मंगलबार बेलुका मेची भन्सार गेट नजिकैबाट चार महिलाको उद्धार गर्दै ५९ वर्षीया लीलादेवी (रामपियारी) पन्थीलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानअनुसार पन्थीले हङकङ लैजाने भन्दै भारतीय कागजात बनाइदिने बहानामा नगद लिई महिलाहरूलाई भारत लैजान खोजेकी थिइन्। उनको साथबाट ५ लाख ९९ हजार ५४० भारतीय रुपैयाँ र १७ हजार ८१५ नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकी पन्थीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ भने उद्धार गरिएका महिलाहरूलाई आफन्त नेपालमा राखिएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार ००:००  १० : ५३ बजे