काठमाडौँ –नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको वर्तमान नीति र नेतृत्वलाई जनताले स्पष्ट रूपमा अस्वीकार गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्र गम्भीर आत्मसमीक्षा र पुनर्गठनको आवश्यकता औंल्याएका हुन् ।
भट्टराईले निर्वाचनमा जनताले दिएको मतलाई ‘शान्तिपूर्ण विद्रोह’ को संज्ञा दिँदै यसलाई आजको वस्तुगत यथार्थको रूपमा स्वीकार्नुपर्नेमा जोड दिएका छन्। उनले लेखेका छन्, “निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेका छन्। यो आजको कठोर तर सत्य यथार्थ हो ।”
“हामीले आफूभित्र सर्वाङ्गीण रूपान्तरणमार्फत जनसमर्थन पुनः आर्जनको बाटो लिनुपर्दछ। हामी ढलेका मात्र हौं, मरेका होइनौं। सही नीति र नेतृत्वका साथ हामी फेरि उठ्नेछौं।”
उपमहासचिव भट्टराईले विगतका केही नीतिगत निर्णयहरूप्रति आफ्नो असहमति रहेको स्मरण गर्दै ती विषयहरूमा पुनः बहस हुनुपर्ने माग गरेका छन्। विशेषगरी २३ र २४ भदौपछि पार्टीले लिएका केही अडानहरूका विषयमा उनले पार्टी बैठक र महाधिवेशनमा फरक मत राखे पनि त्यतिबेला ती विचारहरू अस्वीकृत भएको उनले उल्लेख गरेका छन्।


















