बिर्तामोड-निर्वाचन सुरक्षाको संवेदनशीलतामा गम्भीर रहेको जनाउँदै त्यसमा कुनै शंका उपशंका नगर्न झापा प्रहरीले आफ्नो पूर्ववत प्रतिबद्धता दाेहाेर्याएकाे छ ।
जेनजी आन्दोलन पछिको सुरक्षा चुनौती र संकट व्यवस्थापन गर्न प्रहरी सक्षम हुँदै गएको जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाले निर्वाचन सुरक्षामा कुनै कमजोरी हुन नदिने स्पष्ट पारेको हो ।
गत साता झापा प्रहरीको कमाण्ड सम्हालेकी एसपी बसुन्धरा खड्काले विगतका अनुभवबाट पनि आफूले सिकेको जनाउँदै निर्वाचन सुरक्षाको संवेदनशीलतामा कुनै शङ्का गर्नु नपर्ने बताइन् ।
‘झापा प्रहरी सबै चुनौतीको सामना गर्न सक्षम छ । म एक्लै छैन’, मङ्गलबार जिल्ला प्रहरी परिसरमा आयोजित मिडिया ब्रिफिङमा एसपी खड्काले भनिन्, ‘म एक्लैले च्यालेन्ज फेस गर्नुपर्ने भए पो डर वा शङ्का मान्नु ।’
झापा प्रहरी प्रमुख खड्काले आफ्नो सरुवालाई ‘नियमित प्रक्रिया’ भन्दै यसमा थप शङ्का गर्नुपर्ने कारण नभएको बताइन् । आफ्नो झापा आगमनको विषयमा बाहिर आएको राजनीतिक असन्तुष्टिप्रति एसपी खँड्काको प्रतिक्रिया लक्षित थियो ।
मिडिया ब्रिफिङमा उनले झापाको चुनावी प्रतिस्पर्धालाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चासोका साथ हेरिएको जनाउँदै शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु आफ्नो दायित्व हुने बताइन् ।
जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र गोलीगठ्ठा बाहिर रहेकै अवस्थामा एसपी खड्काले निर्वाचनलाई भयरहित बनाउने प्रहरी प्रयास रहने बताउँदै सर्वसाधारणलाई सुरक्षा व्यवस्थाप्रति थप विश्वस्त बनाउन खोजेकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विभिन्न प्रहरी कार्यालयबाट लुटिएकामध्ये १६ थान हतियार अझै भेटिएका छैनन् । इलाका प्रहरी कार्यालय बिर्तामोड र दमकबाट १०३ थान हतियार लुटिएका थिए ।
करिब ९ हजार गोली पनि प्रहरीले फेला पार्न सकेको छैन । भदौ २३ र २४ को जेनजी आन्दोलनमा हिरासतबाट भागेका ७२ थुनुवामध्ये ३१ जना अझै बाहिर छन् । उनीहरूको खोजी भइरहेको एसपी खड्काले बताइन् ।


















