७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

बिर्तामोडमा नागरिक अस्पताल निर्माणाधीन : फागुनसम्म सेयर हाल्ने मौका, वैशाखदेखि सेवा प्रारम्भ गर्ने तयारी



बिर्तामोड-नागरिक स्वास्थ्य सहकारी संस्थाले फागुन मसान्तसम्म सेयर खुला गर्ने समयसीमा निर्धारण गरेको छ । संस्थाको शनिबार सम्पन्न पाँचौं वार्षिक साधारण सभाले फागुन मसान्तपछि सेयर सदस्यता बन्द गर्ने निर्णय गरेको हो ।

पुराना सदस्यले माघ मसान्तसम्म र नयाँ सदस्यले फागुनभित्र सेयर हाल्ने मौका प्राप्त गर्ने सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेलले बताए ।

सहकारी संस्थाले सदस्यबाट संकलित सेयर रकम अस्पताल निर्माणका लागि लगानी गरिरहेको छ । बिर्तामोड-४ हर्कलाल मार्गमा सहकारीको लगानीमा नागरिक अस्पताल निर्माणाधीन अवस्थामा छ ।

२०७७ पुस १३ मा स्थापना भएको सहकारी संस्थाले ११ कट्ठा जग्गा २५ वर्षका लागि भाडामा लिएर अस्पताल भवन निर्माण गरिरहेको हो ।

अस्पताल निर्माण सुरु भएपछि सहकारीको सदस्य बन्न सरोकारवालाले अग्रसरता देखाइरहेका छन् । अहिलेसम्म करिब ३०० सेयर सदस्यले रकम जम्मा गरेका छन् ।

ती सदस्यले १ लाख २५ हजारदेखि ५ लाख २५ हजारसम्म सेयर हालेका छन् । साधारण सभामा दिइएको जानकारी अनुसार असार मसान्तसम्म ३ करोड ७१ लाख ५३ हजार रुपैयाँ संकलन भएको छ ।

सर्वसुलभ स्वास्थ्य उपचार सेवा विस्तार गर्ने दीर्घकालीन नीतिसहित निर्माणधीन अस्पतालले २०८३ वैशाखदेखि सेवा सुरु गर्ने प्रारम्भिक तयारी गरेको सहकारी संस्थाका अध्यक्ष युवराज दाहालले बताए ।

साधारण सभामा बोल्दै स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डाक्टर टंकप्रसाद बाराकोटीले जनस्तरमा सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मोरङ सहकारी अस्पतालका कार्यकारी प्रमुख विकास अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै अधिकारीले भने, ‘निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नु छ । त्यसैले उपचार सेवामा विश्वसनीयता दिने गरी काम गर्नुस् ।’

कार्यक्रममा समाजसेवी राजकुमार पोखरेल, सहकारी संस्थाका संस्थापक अध्यक्ष बलराम कार्की, डाक्टर मुक्ति खनाल लगायतले बोलेका थिए ।

सहकारी संस्थाका कोषाध्यक्ष जीवनकुमार खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव रविन्द्र भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार ००:००  ८ : ५७ बजे