२० असार २०८३, शनिबार | Sat Jul 4 2026

रतुवा खोलाको काँसघारीबाट हातहतियार र गोलीगठ्ठा बरामद



झापा-झापाको दमकस्थित रतुवा खोलाको काँसघारीमा हातहतियार तथा गोलीगठ्ठा फेला परेको छ । विभिन्न ५ प्रकारका हातहतियार तथा गोलीगठ्ठा फेला परेको हो ।

शुक्रबार अपरान्ह दमक-१ बुद्धटोल स्थित रतुवा खोला किनारको काँसघारीमा गोलीगठ्ठा र हातहतियार फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

काँसघारीमा हातहतियार तथा गोलीगठ्ठा भेटिएको जनाउँदै स्थानीयले प्रहरीमा खबर गरेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय दमकले प्रहरी नायव उपपरीक्षक किशोर लम्सालको कमाण्डमा टोली परिचालन गरेको थियो ।

खोला किनारमा भेटिएका हतियार जेनजी आन्दोलनका क्रममा दमक प्रहरी कार्यालयबाट लुटिएका हतियार भएको प्रहरीले जनाएको छ ।

म्यागजिन सहितका दुई थान इन्सास, म्यागजिन नभएको एक थान इन्सास, ३०३ को जंगी राउन्ड १३४ थान, एसएलआरको जङ्गी राउन्ड पाँचथान, इन्सासको जङ्गी राउन्ड २० थान, गोली राख्ने बिन्दुली तीनथान लगायतका हातहतियार र गोलीगठ्ठा प्रहरीले बरामद गरेको हो ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार ००:००  ६ : ४८ बजे