बिर्तामोड- नेपाल पत्रकार महासंघका पछिल्लो कार्यकालका सचिव प्रदीप परियारलाई अभिषेक चौधरी नामका युवाले अश्लिल गालीगलौजसहित घरबाट उठाउने धम्की दिएका छन् । जातिय विभेदसहितका शब्द प्रयोग गर्दै चौधरीले २३ गते पत्रकार परियारलाई धम्क्याएका हुन् ।
सामाजिक सञ्जालमा जातिय विभेद हुने गरी कमेन्ट गर्नुका साथै अडियो र भिडियो कलमार्फत चौधरीले आफूलाई धम्की दिएको पत्रकार परियारले बताए । इजलास दैनिकका सम्पादक समेत रहेका परियारले घटनापछि चौधरीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
घटनापछि नेपाल पत्रकार महासंघ र प्रेस चौतारी झापाले अलग-अलग विज्ञप्ति जारी गरी धम्की दिने चौधरीमाथि कार्वाहीको माग गरेका छन् । महासंघका सचिव राजु पाठकले विज्ञप्ति निकालेर पत्रकारको सुरक्षामा गम्भीर हुन र दोषीलाई कार्वाही गर्न माग गरेका हुन् ।
प्रेस चौतारीका अध्यक्ष रहेका परियारमाथि आएको धम्कीप्रति संगठनले आपत्ति जनाउँदै दोषीमाथि कार्वाहीको माग गरेको सचिव युवराज आचार्यले बताए ।














