७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

एमाले महाधिवेशमा २४ सय प्रतिनिधि



काठमाडौँ-नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्ला मैदानमा भव्य समारोहका साथ उद्घाटन गरिने भएको छ । महाधिवेशनको बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

महाधिवेशनमा आयोजक तथा विभिन्न प्रक्रियाबाट निर्वाचित गरी कूल दुई हजार चार सय महाधिवेशन प्रतिनिधिले सहभागिता जनाउनेछन् । पार्टीका कूल ८१ जिल्ला कमिटी रहेका छन्, जसमा ७७ वटा साधारण र ७ वटा विशेष जिल्ला सामेल छन् ।

संगठित सदस्यहरूको अनुपातलाई आधार मानी प्रतिनिधि संख्या निश्चित गरी छनोट गरिएको हो । साथै, प्रतिनिधि चयनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई समेत आधार मानिएको छ ।

महाधिवेशनमा पार्टीका विभिन्न आयोग तथा निकायका पदाधिकारी एवम् सदस्य स्वतः प्रतिनिधिको रूपमा सहभागी हुनेछन् । यसमा २९ सदस्यीय अनुशासन आयोग, ३० सदस्यीय केन्द्रीय लेखा आयोग, २५ सदस्यीय निर्वाचन आयोग र २५ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरू पर्दछन् ।

प्रदेशस्तरीय कमिटीबाट प्रत्येकबाट पाँच जनाका दरले ४५ जना प्रतिनिधि चुनिएका छन्, जसमा अनिवार्य रूपमा दुई जना महिला सदस्य छन्। त्यस्तै, प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट प्रत्येक १२०० पार्टी सदस्य बराबर चार जना प्रतिनिधि निर्वाचित हुनेछन्, जसमा कम्तीमा एक जना महिला र ४० वर्ष मुनिका एक जना युवा अनिवार्य गरिएको छ ।

महाधिवेशनलाई व्यवस्थित बनाउन करिब १० हजार स्वयंसेवक परिचालन गरिनेछ। यी स्वयंसेवकहरू पार्टीका विभिन्न २४ जनसंगठन तथा कमिटीहरूबाट तयार पारिएका हुन् । राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले पनि यस स्वयंसेवा कार्यमा सहयोग पुर्याउनेछ।

प्रकाशित मिति : २३ मंसिर २०८२, सोमबार ००:००  ४ : १६ बजे