झापा-झापामा यस वर्ष तीन लाख ५० हजार मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार, यस वर्ष ७२ हजार ७४२ दशमलव ६५ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट कुल तीन लाख ५४ हजार ३१५ दशमलव ९२ मेट्रिक टन धान भित्रिएको छ ।
केन्द्रका प्रमुख सागर विष्टले गत वर्षको तुलनामा यो वर्ष धानखेतीको क्षेत्रफल र समग्र उत्पादन घटे पनि उत्पादकत्वमा भने वृद्धि भएको जानकारी दिए । उनका अनुसार, यस वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव १९५ मेट्रिक टन पुगेको छ, जुन गत वर्षको पाँच दशमलव शून्य ७३ मेट्रिक टनभन्दा बढी हो ।
गत वर्ष ७५ हजार ४५९ दशमलव १८ हेक्टर क्षेत्रफलमा धानखेती हुँदा कुल तीन लाख ८२ हजार ८११ दशमलव ९७ मेट्रिक टन धान उत्पादन भएको थियो । प्रमुख विष्टका अनुसार, बेमौसमी तथा अनियमित वर्षाका कारण गत वर्षको तुलनामा यस वर्ष धानखेतीको क्षेत्रफल दुई हजार ७१६ दशमलव ५३ हेक्टरले घटेको हो ।
गत असोज र कात्तिक महिनामा भएको बेमौसमी वर्षाका कारण जिल्लामा २३ हजार ५६४ दशमलव ३३ मेट्रिक टन धानमा क्षति पुगेको कार्यालयले जनाएको छ । उक्त क्षतिबाट अनुमानित ७८ करोड ११ लाख ५६ हजार रुपैयाँ बराबरको नोक्सानी भएको बताइएको छ।














