झापा-भारतको गोवा राज्यस्थित अरपोरा क्षेत्रमा रहेको एउटा नाइट क्लबमा शनिबार मध्यरातमा भएको भीषण आगलागीमा परी चार नेपाली नागरिकसहित कुल २५ जनाको ज्यान गएको पुष्टि भएको छ । उक्त घटनामा थप ६ जना घाइते भएका छन् ।
गोवा सरकारले सार्वजनिक गरेको विवरण अनुसार, मृतक २५ मध्ये २० जना क्लबका कर्मचारी हुन् । ती कर्मचारीमध्ये चार जना नेपाली नागरिक रहेको सूचीमा स्पष्ट पारिएको छ ।
हिन्दुस्तान टाइम्सले जनाएअनुसार, आगलागीमा ज्यान गुमाउने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल, सविन र सुदीप रहेका छन् ।
उनीहरू नेपालका नागरिक भए पनि उनीहरूको ठेगाना भने अझै खुल्न सकेको छैन । गोवा सरकारले मृतक नेपालीहरूको शव नेपाल पठाउनका लागि आवश्यक समन्वय र व्यवस्था गरिने बताएको छ ।
शनिबार मध्यरातमा नाचगान चलिरहेको समयमा इलेक्ट्रोनिक फायरक्राकर प्रज्वलन गर्दा आगलागी सुरु भएको थियो । साँघुरा गल्ली र सडकका कारण दमकल समयमै घटनास्थल पुग्न नसक्दा आगोले ठूलो र भयावह रूप लिएको थियो ।
अधिकांश मानिसहरू नाइट क्लबको भुइँतलामा र भान्सा क्षेत्रमा फसेर ज्यान गुमाएका थिए । केहीको आगोमा जलेर र केहीको बाक्लो धुँवामा निसास्सिएर मृत्यु भएको छ ।














