काठमाडौं- सिनामंगलमा नेपाल प्रहरीका एक सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने शिशुको हत्या गरेको घटना सार्वजनिक भएको छ। शिशुको हत्या गरेको अभियोगमा असई पुष्कर कार्कीलाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, हत्यापश्चात फरार रहेका कार्कीलाई नागढुंगा क्षेत्रबाट पक्राउ गरिएको हो। हाल उनलाई परिसरकै हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट कार्कीले आइतबार दिउँसो सिनामंगलस्थित आफ्नो डेरा कोठामा शिशुको घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरीको भनाइ छ।
शिशुलाई ब्रेन ट्युमरको उपचार गराइँदै गर्दा उनकी श्रीमती कृष्णा कुँवरसँग पुष्करको उपचारसम्बन्धी विवाद भएको र सोही विवादका क्रममा उनले छोराको हत्या गरेको प्रहरीको भनाइ छ।
पुष्करकी श्रीमती कृष्णा कुँवर स्वयं पनि नेपाल प्रहरीमा जवान पदमा कार्यरत छिन्। दुवै पति-पत्नी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेका छन् ।
पुष्करले आफ्नी श्रीमती कृष्णालाई समेत कुटपिट गरी घाइते बनाएका कारण हाल उनको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।














