झापा-नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा धाँधली भएको उजुरीपछि धनकुटा र ओखलढुंगामा भएका निर्वाचन केन्द्रले बदर गरेको छ । पार्टीको केन्द्रीय कमिटीले दुवै जिल्लालाई पाँच दिनभित्र पुनः प्रतिनिधि छनोट गर्न निर्देशन दिएको छ ।
ओखलढुंगामा संस्थापन इतरपक्षले सदरमुकाममा मात्रै मतदान गराएर एकलौटी परिणाम घोषणा गरेको थियो भने धनकुटामा संस्थापन पक्षले एकलौटी रूपमा निर्वाचन गराएको आरोप छ । धनकुटामा सहमति प्रयास असफल भएपछि जिल्ला अध्यक्ष राजेन्द्र राईले एकलौटी निर्वाचन गराएको र केही स्थानमा मतपत्र च्यातिएको थियो ।
प्रदेश सांसद इन्द्रमणि पराजुलीसहितको समूहले निर्वाचन प्रक्रियाको विरोध गरेको थियो। दुवै जिल्लाको छनोट प्रक्रिया बदर भएपछि पुनः प्रतिनिधि छनोटको तयारी सुरु भएको छ। धनकुटाको विवाद समाधानको जिम्मा प्रदेश इन्चार्ज शेरधन राई र जिल्ला अध्यक्ष राजेन्द्र राईलाई दिइएको छ ।
ओखलढुंगाको प्रतिनिधि छनोट सहजीकरणका लागि शेरधन राईसहित विशाल भट्टराई, यज्ञराज सुनार र किशोर अधिकारीलाई जिम्मेवारी तोकिएको छ।



















