बिर्तामोड- झापाको हल्दीवारीमा ‘दोस्रो झापा जिल्ला स्तरीय डोरी तान आउटडोर च्याम्पियनसीप-२०८२’ आयोजना हुने भएको छ । झापा जिल्ला डोरी तान संघ र हल्दीवारी जेसीजको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगिता मंसिर ११ गते बिहीबारका दिन हल्दीवारी गाउँपालिका–५, कञ्चनश्रीस्थित मोती आधारभूत विद्यालयको खेल मैदानमा हुने तय गरिएको छ । झापा जिल्ला डोरी तान संघकी अध्यक्ष युनिता दवाडीले प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी दिइन् ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता बन्ने टिमलाई नगद ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष दवाडीले बताइन् ।
हल्दीवारी जेसीजकी संस्थापक अध्यक्ष समेत रहेकी दवाडीले च्याम्पियनसीपमा तीन वटा विभागीय टोली र झापाका १५ वटा पालिकाका टोली गरी कुल १८ टीमबीच प्रतिस्पर्धा हुने जानकारी दिइन् ।
खेलकुदका माध्यमबाट युवालाई सक्रिय बनाउन, डोरी तान खेलको प्रवर्द्धन गर्न र खेलमार्फत पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हल्दीवारी जेसीजका महासचिव प्रायुस पौड्यालले बताए ।
कार्यक्रम सम्पन्न गर्न करिब ९ लाख ८२ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ, जसका लागि विभिन्न पालिका तथा दाताहरूबाट सहयोग जुटाइनेछ ।
प्रतियोगिताका क्रममा खेलाडी घाइते भएमा उनीहरूको उपचारका लागि नेको इन्स्योरेन्ससँगको सहकार्यमा एक दिने उपचार बीमाको व्यवस्था गरिएको छ । अतिथिहरूलाई मायाको चिनोस्वरूप कामाक्षा चिया प्रशोधन प्रालिद्वारा उत्पादित चिया प्रदान गरिनेछ ।
कार्यक्रम घोषणा सभामा कोशी प्रदेश डोरीतान संघकी उपाध्यक्ष हिमा मिश्र पौड्याल, जिल्ला उपाध्यक्षद्वय केशवराज मैनाली र हेम न्यौपाने, सचिव मनिष मुर्मू, कोषाध्यक्ष मेनुका उप्रेती, सदस्य श्री न्यौपाने लगायत हल्दीवारी जेसीजका पदाधिकारीको सहभागिता रहेको थियो ।














