झापा-झापा मेचीनगर नगरपालिका-१५ हेल्दुबारीस्थित भित्री सडक खण्डमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार भद्रपुरबाट इटाभट्टातर्फ जाँदै गरेको प्र.१–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकलले सडकको छेउमा रोकि राखिएको प्र.१–०१–००१ त ९९७७ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक ३८ वर्षीय बिनोद राउत र पछाडि सवार २१ वर्षीय निश्चल भुजेल दुवै गम्भीर घाइते भएका थिए ।
घाइते दुवै जनालाई प्रारम्भिक उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र त्यसपछि थप उपचारका लागि वीएण्डसी अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।
उपचारको क्रममा साँझ ७:४५ बजे चालक राउतको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । भुजेलको भने उपचार जारी छ ।
दुर्घटनामा संलग्न ट्र्याक्टर र ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।














