२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा बिर्तामोडमा रक्तदान



बिर्तामोड– नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले शुक्रबार झापाको बिर्तामोडमा रक्तदान आयोजना गरेको छ । झापामा रगतको अभाव बढ्दै गइरहेका बेला महासङ्घको नगर कमिटीले रक्तदान आयोजना गरेको हो ।

तुलनात्मक रूपमा रक्तदानका कार्यक्रम कम भइरहेका बेला रगतको बढ्दो अभाव टार्न रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीका अध्यक्ष युवराज निरौलाले बताए ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच रक्तदान कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।अध्यक्ष निरौलाका अनुसार समयमा रगत नपाउँदा ज्यानै गएका कतिपय घटना पनि छन् ।

रगतको बढ्दो संकट व्यवस्थापनका लागि सचेत नागरिकको भूमिका महत्वपूर्ण हुने अध्यक्ष निरौलाले बताए । नेपाल रेडकस सोसाइटीको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदानमा ४२ जनाले रगत दिएका छन् ।

यसअघि हिजो बिहीबार मात्रै बिर्तामोडमा दुईवटा रक्तदानका कार्यक्रम भएका थिए । नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका सभापति मनोज अग्रवालले पछिल्ला केही दिन यता रगतको माग बढेको बताउँदै अभाव टार्न रक्तदानका कार्यक्रमलाई निरन्तरता दिनुको विकल्प नभएको बताए ।

सभापति अग्रवालका अनुसार बिर्तामोडमा दैनिक ६० देखि ७० युनिट रगत खपत भइरहेको छ । कतिपय अवस्थामा बिरामीले मागेअनुसार रगत पाउन सकिरहेका छैनन् । सभापति अग्रवालले सचेत र स्वस्थ्य नागरिकले हरेक तीन महिनामा एकपटक रक्तदान गर्नुपर्ने बताएका छन् ।

महिला उद्यमी संघद्वारा रक्तदान
बिर्तामोड उद्योग वाणिज्य सङ्घ अन्तर्गतको महिला उद्यमी समूहले बिहीबार बिर्तामोडमा रक्तदान गरेको छ । अध्यक्ष राधिका चुँडालका अनुसार त्यहाँ ३८ जनाले रक्तदान गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शुक्रबार ००:००  १२ : १९ बजे