बारा-नेकपा एमालेका शीर्ष नेताहरूको आगमनलाई लिएर उत्पन्न विवादले उग्र रूप लिएपछि बाराको सिमरामा स्थानीय प्रशासनले निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ ।
एमाले निकट राष्ट्रिय युवासंघ र ‘जेनजी’ समूहका युवाहरूबीच सिमरा विमानस्थल क्षेत्रमा झडप भएपछि स्थिति नियन्त्रण बाहिर जान नदिन प्रशासनले यस्तो कदम चालेको हो ।
आज बाराको परवानीपुरमा युवासंघ नेपालको मधेश प्रदेश स्तरीय ‘युवा जनजागरण अभियान’ कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्न एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल तथा नेता महेश बस्नेत लगायत सिमरा आउने कार्यक्रम तय भएको थियो ।
नेताहरूको आगमनलाई लक्षित गर्दै उनीहरूलाई रोक्न ‘जेनजी’ समूहका युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा विरोध प्रदर्शनको तयारी गरेका थिए । सोही क्रममा युवासंघका कार्यकर्ताहरूले प्रतिवाद गरेपछि दुई पक्षबीच झडप भएको हो । झडपका कारण अहिले सिमरा र आसपासको अवस्था तनावग्रस्त बनेको छ ।
सम्भावित हिंसा र थप क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालय बाराले तोकिएको क्षेत्रमा आवतजावत र भेला हुन रोक लगाएको छ । प्रशासनको आदेश अनुसार बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
प्रशासनले गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर क्षेत्र र सिमरा विमानस्थलको वरिपरि ५०० मिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त समयभित्र यी क्षेत्रहरूमा कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
अहिले घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


















