२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

प्रेस चौतारीले भन्यो, ‘पत्रकारको सुरक्षामा गम्भीर बन’



बिर्तामोड– प्रेस चौतारी झापाले पत्रकारको सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण निर्वाध पत्रकारिता गर्ने वातावरण नभएको जनाउँदै प्रेस चौतारीले सञ्चारकर्मीको सुरक्षामा गम्भीर र चनाखो हुन स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको हो ।

प्रेस चौतारीले सम्बन्धित सबै निकायले पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति दिलाउने वातावरण निर्माण गर्नु पर्नेमा जोड दिएको छ । प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले सञ्चारकर्मीको सुरक्षा, स्वतन्त्रता र निष्पक्ष पत्रकारिताको वातावरण सुनिश्चित गर्न प्रशासनसँग माग गरिएको बताए ।

बैठकले जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । प्रेस चौतारीका केन्द्रीय सदस्य माधव विद्रोहीको प्रमुख आतिथ्यमा भएको बैठकले आन्दोलनका क्रममा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

बैठकपछि सचिव युवराज आचार्यले विज्ञप्ति जारी गरी जेनजी आन्दोलनपछि देशभरका सञ्चारकर्मी र सञ्चारमाध्यमहरू असुरक्षित भएको जनाउँदै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

पत्रकार र आम नागरिकको शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर कुनै पनि किसिमको दमन धम्की वा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध स्वीकार्य नहुने प्रेस चौतारीले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, आइतबार ००:००  ९ : ४५ बजे