बिर्तामोड-ढुवानी व्यवसायको क्षेत्रमा स्थापित पूर्वेली ढुवानी सेवा प्रालिले आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललाई बिदाई गरेको छ ।
झापा बसाइको एकवर्षे कार्यकाल पूरा गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा हुनु भएका प्रहरी निरीक्षक पौडेललाई पूर्वेली ढुवानीले स-सम्मान बिदाई गरेको हो ।
सरुवा भएर जाने प्रहरी अधिकारीलाई बिदाई गर्ने र नव आगन्तुक प्रहरी अधिकारीलाई स्वागत गर्ने संस्थागत परम्परा बमोजिम प्रालिको तर्फबाट फेरि भेटौँला कार्यक्रम आयोजना गरी प्रहरी निरीक्षक पौडेललाई बिदाई गरिएको पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मलराज खत्रीले बताए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो । प्रालिका तर्फबाट प्रहरी निरीक्षक पौडेललाई पुष्पहार र खादा ओडाएर मायाको चिनोसहित बिदाई गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले प्रहरी अधिकारीको बिदाई र स्वागतलाई स्वभाविक लिनुपर्ने बताउँदै सबै प्रहरी अधिकारीले स-सम्मान बिदाईको अवसर प्राप्त नगर्ने बताए ।
प्रहरी निरीक्षक पौडेलले आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउन गरेका प्रयास र प्रयत्नलाई समुदायले समेत सकारात्मक रुपमा लिएको बताउँदै उपाध्यक्ष न्यौपानेले प्रहरी निरीक्षक पौडेलको सञ्चारमैत्री कार्यशैली अनुकरणीय रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रहरी निरीक्षक पौडेलले कानुनी कर्तव्य पालनाका सिलसिलामा आफूले झापा ट्राफिकको व्यवस्थापनलाई अझ उत्कृष्ट र प्रभावकारी बनाउन प्रयत्न गरेको बताउँदै झापाबाट आफूले थुप्रै विशेष सिकेको उल्लेख गरे ।
प्रालिका तर्फबाट कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रमेश तिवारीले गरेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी विजय श्रेष्ठ, हाम्रो ढुवानी सेवाका सञ्चालक पदम श्रेष्ठ, अग्रज पत्रकार गणेश पोखरेल, युवा व्यवसायीहरू विपिन बजगाईं, रमेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।














