२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

शिवसताक्षीका कर्मचारीद्वारा बाढी पीडितलाई राहत वितरण



शिवसताक्षी- शिवसताक्षी नगरपालिकाले गएको बाढीबाट प्रभावित परिवारलाई लक्षित गरी राहत वितरण कार्यक्रम सञ्चालन गरेको छ ।

नगरपालिकाका कर्मचारीहरूले स्वस्फूर्त रूपमा रकम संकलन गरी बाढीबाट घरमा पानी पसेर चुलो बाल्न समस्या भएका कन्काई माईको बाढी प्रभावित वडा नं. ७ लालपानी, राजवंशी बस्तीका ५४ घरपरिवारलाई ग्यास सिलिन्डर र चुलो वितरण गरेका हुन् ।

नगरपालिकाका प्रमुख मेघाहाङ्ग थोप्राले अन्य संघसंस्थाहरूले खाद्यान्न र लत्ताकपडा वितरण गरे पनि चिसो भुइँमा खाना पकाउन समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै कर्मचारीहरूको पहलमा ग्यास चुलो वितरण गरिएको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फेले समस्यामा परेका नगरवासीको साथमा उभिनु नगरपालिका र कर्मचारी दुवैको दायित्व भएको बताउँदै बाढी प्रभावित परिवारलाई अत्यावश्यक सामग्री प्रदान गरिएको जानकारी दिइन् ।

यसअघि, नगरपालिकाले लालपानीका १२ परिवारलाई खाद्यान्न सामग्री वितरण गरिसकेको थियो । बाँकी परिवारलाई २५ केजी चामल, २ केजी दाल, ५ केजी आलु, १ लिटर खानेतेल, २ केजी नुन र १ कार्टुन पानी वितरण गरिएको छ ।

यसैगरी, वडा नं. ५ का ५० परिवार र वडा नं. ६ का ३३ परिवारलाई पनि चामल, आलु, नुन, तेल लगायतका खाद्यान्न सामग्री वितरण गरिएको छ।

स्वास्थ्य र शिक्षामा पनि पहल:
बाढी प्रभावित क्षेत्रमा रोगको प्रकोप फैलन नदिन नगरपालिकाको स्वास्थ्य टोलीले दैनिक रूपमा घरदैलो स्वास्थ्य परीक्षण गरिरहेको छ । स्वास्थ्य शाखाका फोकल पर्सन रोशन अधिकारीले हैजा जस्ता रोग फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्वास्थ्य परीक्षण र औषधी वितरण भइरहेको बताए ।

बाढीले विद्यार्थीहरूको विद्यालय पोसाक र शैक्षिक सामग्रीमा क्षति पुगेकोले शिवसताक्षी नगरपालिकाले शैक्षिक सामग्री वितरणको तयारी पनि गरिरहेको छ । नगरपालिकाका शिक्षकहरूले १ लाख २५ हजार रुपैयाँ संकलन गरी नेपाल शिक्षक महासंघमार्फत नगरपालिकाको विपद् व्यवस्थापन शाखालाई हस्तान्तरण गरिसकेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार ००:००  १२ : १७ बजे