झापा-करिब दुई वर्षअघि हमास समूहले अपहरण गरेका नेपाली नागरिक विपिन जोशी अब जीवित नरहेको इजरायली अधिकारीहरूले औपचारिक रूपमा पुष्टि गरेका छन् । इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीहरू र इजरायली सेनाका कमान्डरले विपिनको परिवारजनलाई यो दुःखद खबर दिएका हुन् ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले टेलिफोनमार्फत जानकारी दिँदै इजरायली अधिकारीहरूले सुरुमा आफूलाई र त्यसपछि अमेरिकामा रहेकी विपिनकी आमा तथा बहिनीका साथै नेपालमा रहेका आफन्त किशोर जोशीलाई यो खबर दिएको बताए ।
विपिन जोशीलाई २०८० असोज २३ गते किबुज आलुमिमबाट हमास समूहले अपहरण गरेको थियो । अपहरणपछि मंसिर महिनासम्म उनी जीवित रहेको भिडियो सार्वजनिक भएको थियो । यद्यपि, उनको शवबारे भने अझै यकिन जानकारी प्राप्त नभएको राजदूत पण्डितले बताए ।
यो खबरले जोशी परिवार र सम्पूर्ण नेपाली समुदायमा गहिरो शोक छाएको छ । हमास समूहले आज २० जना बन्धकलाई इजरायलसमक्ष हस्तान्तरण गर्ने तयारी गरिरहेका बेला विपिन जोशीको निधनको खबर आएको हो ।



















