शिवसताक्षी– शिवसताक्षी नगरपालिकाले असोज १८ गते रातिदेखि परेको अविरल वर्षाका कारण कनकाई माई नदीमा आएको बाढीले प्रभावित नागरिकहरूको क्षति विवरण संकलन कार्य सुरु गरेको छ। नगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका छन्।
नगरपालिकाले प्रारम्भिक चरणमा शिवसताक्षी-७, लालपानीका ७२ घरपरिवारको क्षति विवरण संकलन गरेको जनाएको छ। यस क्षेत्रमा अझै केही घरको विवरण संकलन गर्न बाँकी छ ।
बाढीबाट विस्थापित नागरिकहरू हाल लालपानी माध्यमिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । लालपानी क्षेत्रमा मुख्यतया राजवंशी समुदायका परिवारहरूको बसोबास छ ।
नगर प्रमुख मेगाहाङ थोप्राले बाढीबाट अधिकांश पीडित परिवारहरूको लत्ता–कपडा, भाँडा–वर्तन, किचनका सामग्री र दैनिक प्रयोगका सामानहरूमा ठूलो क्षति पुगेको बताउनुभयो । कतिपयको भकारीमै राखिएको धानसमेत हिलोमा डुबेर खान अयोग्य भएको छ।
नगर उपप्रमुख नरमाया कार्कीले तत्काल राहत स्वरूप पीडित नागरिकलाई ओछ्याउने म्याट, झुल, तन्ना, महिलाका लागि साडी र खाद्य सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।
नगरपालिकाले विस्तृत विवरण संकलनपछि क्षतिको परिमाणअनुसार राहत वितरण गर्ने तयारी गरेको छ। प्रारम्भिक मूल्यांकनअनुसार, प्रति घर १५ हजारदेखि १ लाख रुपैयाँसम्मको क्षति भएको अनुमान गरिएको छ।
बाढीबाट वडा नं. ४, ५, ६ मा पनि डुबानमा परेकाले ती वडाहरूमा पनि नगरपालिकाले क्रमशः क्षति विवरण संकलन गर्ने जनाएको छ। आज जनप्रतिनिधि, कर्मचारी, प्रहरीलगायतको टोलीले क्षति विवरण संकलन गरेको थियो।














