१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

झापा बाढीका कारण पाँच हजार घरपरिवार विस्थापित



झापा-अविरल वर्षापछिको बाढीले झापामा पाँच हजार घरपरिवारका २५ हजार भन्दाबढी नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले बाढी प्रभावितको पछिल्लो अवस्था सार्वजनिक गर्दै उनीहरूलाई आफन्तकाे घर, विद्यालय भवन र सार्वजनिक स्थलमा अस्थायी बसोबासका लागि राखिएको जनाएको छ ।

बाढी प्रभावित घरपरिवार मध्ये आधाभन्दा ठूलो सङ्ख्या डुबान समस्याका बीच पनि आफ्नै घरमा छन् । तत्काल उनीहरूलाई स्थानान्तरण गर्न समस्या भएको छ ।

लगातार परेको वर्षापछि स्थानीय नदीनालामा आएको बाढी बस्तीमा पस्दा विस्थापित हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

अहिलेसम्म प्रभावित क्षेत्रमा एकजना पुरुषको मृत्यु भएको भेटिएको तर पहिचान नखुलेको प्रहरीले जनाएको छ ।झापाको कनकाई, बिरिङ, मेची लगायतका नदीनालामा बाढी उर्लिदा सयौं नागरिक विस्थापित भएका हुन् ।

छिमेकी जिल्ला इलामका विभिन्न ठाउँमा भइरहेको अविरल वर्षाका कारण झापाका खोलानालामा पानीको सतह बढेको हो ।

बस्तीमा पानी पसेपछि उद्धारका लागि नेपाल रेडक्रस सोसाइटीसहित सशस्त्र र नेपाल प्रहरी परिचालित भएका छन् ।बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

झापाको माइधार र दुधे सडक खण्डमा रहेको डाइभर्सन भालुखोलाको बाढीले बगाउँदा निर्माणाधीन एसियन राजमार्ग अवरुद्ध भएको हो ।

तत्कालका लागि यातायात आवागमन गर्न वैकल्पिक व्यवस्था मिलाइएको र अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रशासनले जनाएको छ ।

धुलाबारी काँकडभिट्टा सडक खण्डको कालीखोलामा समेत बाढीले डाइभर्सन बगाउँदा यातायात अवरुद्ध छ । बाढीले अर्जुनधारा खुदुनाबारी खानेपानी आयोजनाको डीप ट्याङ्की र पाइप समेत बगाएको छ ।

बाढीका कारण क्षतिग्रस्त संरचनाहरूको विवरण संकलन गर्ने कार्य भइरहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार ००:००  ८ : १६ बजे