काठमाडौँ-बन्द रहेको हवाई सेवा आज बिहानदेखि सुरु भएको छ । अविरल वर्षाका कारण हिजोदेखि आन्तरिक उडान बन्द भएको थियो ।
मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौँबाट उडान भएको छ ।
पोखरा र सुर्खेतको मौसम पनि अनुकूल रहेकाले आन्तरिक उडानको तयारी भइरहेको छ । अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकादेखि नियमित थियो ।
काठमाडौँ उपत्यकाबाट बाहिरिने विभिन्न सडकहरू अवरुद्ध छन् । सडक अवरुद्ध हुँदा हवाई उडानमा यात्रुको चाप पर्ने अवस्था देखिएको छ ।
स्थानीय प्रशासनले लामो दुरीका गाडी सञ्चालनमा लगाएकाले पनि काठमाडौँ उपत्यका बाहिर जान चाहने यात्रुहरू हवाई उडान प्रयोग गर्न बाध्य भएका छन् ।
दशैं मानेर काठमाडौँ फर्किन चाहनेहरूका लागि पनि स्थल मार्गको प्रयोग तत्कालका लागि असम्भव जस्तै देखिएको छ । ठाउँ ठाउँमा सडकहरू अवरुद्ध छन् ।














