१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

जेनजी’ प्रदर्शनपछिको भागाभाग : ८ हजार कैदीबन्दी अझै बेपत्ता



काठमाडौँ– भदौ २३ र २४ गते देशभर मच्चिएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीको फाइदा उठाउँदै विभिन्न कारागार तथा बालसुधार गृहबाट भागेका १४ हजार भन्दाबढी कैदीबन्दीमध्ये अझै ठूलो सङ्ख्या सम्पर्कविहीन रहेको पाइएको छ ।

याे घटनाले नेपालको कारागार सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, हालसम्म ६ हजार ३२८ जना कैदीबन्दी मात्रै फर्किएका छन् ।

फर्कनेहरूमध्ये कतिपयले गल्ती महसुस गरी आफैँ आत्मसमर्पण गरेका छन् भने कतिपयलाई प्रहरीले पक्राउ गरी ल्याएको हो । पछिल्लो २४ घण्टामा मात्रै १४९ जनालाई पुनः हिरासतमा लिइएको छ ।

यद्यपि, अझै ८ हजार २२६ जना कैदीबन्दी प्रहरीको पहुँचभन्दा बाहिर छन् । उनीहरूको खोजी कार्य देशभर तीव्र पारिएको निर्देशक न्यौपानेले जानकारी दिए ।

आन्दोलनको फाइदा उठाउँदै नेपाल प्रहरीको हिरासतमा रहेका करिब २ हजार आरोपीसमेत फरार भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले उनीहरूको खोजी कार्य पनि जारी रहेको बताए ।

आन्दोलनअघि देशभर ३० हजार ६३४ जना कैदीबन्दी रहेका थिए । तर, हाल यो सङ्ख्या घटेर २१ हजार ९९९ मा झरेको छ । यसले फरार भएका कैदीबन्दीहरूको ठूलो सङ्ख्या अझै खुलेआम घुमिरहेको देखाउँछ ।

यति ठूलो सङ्ख्यामा कैदीबन्दी र आरोपीहरू फरार हुनुले सार्वजनिक सुरक्षामा गम्भीर चुनौती थपेको छ । भागेकाहरूबाट थप आपराधिक गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकायले खोजी कार्यलाई थप सशक्त बनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार ००:००  ८ : ०४ बजे