१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

संविधान दिवस : बिर्तामोडमा पत्रकार महासङ्घको प्रभातफेरी



बिर्तामोड– नेपाल पत्रकार महासंघ झापाले संविधान दिवसको अवसरमा शुक्रबार प्रभातफेरी आयोजना गरेको छ । बिर्तामोडको मुक्तिचोकमा प्रभातफेरी आयोजना गरिएको हो ।

प्रभातफेरीमा सञ्चार सम्वद्ध विभिन्न सङ्घसंस्था र सामाजिक संघसंस्थाको सहभागिता रहेको थियो । प्रभातफेरीपछि आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले संविधानको रक्षाका लागि नागरिक तहबाट खबरदारी आवश्यक भएको बताए ।

लामो संघर्षपछि संविधान निर्माण भएको स्मरण गर्दै त्यसको जगर्नाका लागि सबै नागरिक एकजुट भएर खबरदारी गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । जेनजी आन्दोलनपछि संविधान संकटमा पर्न सक्ने विषयमा वक्ताहरूले राजनीतिक दल र सरोकारवालाको ध्यानाकर्षण समेत गराएका छन् ।

संविधान संशोधन गर्न सकिने र यसलाई आम जनताले स्वीकार्न सक्ने बनाउनुपर्नेमा वक्ताहरूको जोड थियो । कार्यक्रममा मानवअधिकार सञ्जालका अध्यक्ष डाक्टर रूपक खनाल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले बोलेका थिए ।

आयोजक संस्थाका तर्फबाट नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले सहभागी सबै संघसंस्थाहरुलाई धन्यवाद दिँदै आगामी दिनमा यस प्रकारका रचनात्मक कार्यक्रममा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार ००:००  १२ : ४५ बजे