३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025

जेनजी आन्दोलन : हालसम्म ७२ जनाको ज्यान गएको पुष्टि



काठमाडौँ-देशमा भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध उठेको जेनजी आन्दोलनले भयावह रूप लिएको छ । आन्दोलनको क्रममा हालसम्म ७२ जनाको ज्यान गएको पुष्टि भएको छ, भने सयौँ घाइते भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण समारोहमा मुख्य सचिव एकनारायण अर्यालले दिएको जानकारी अनुसार यो आँकडा अझै बढ्न सक्ने सम्भावना छ ।

मुख्य सचिव अर्यालका अनुसार मृत्यु हुनेहरूमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन् । यसैगरी, आन्दोलनका क्रममा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भदौ २३ गतेदेखि सुरु भएको झडपले विभिन्न ठाउँमा आगजनीका घटनाहरू निम्त्याएको थियो । यी आगजनीमा परेर पनि धेरै व्यक्तिको मृत्यु भएको बताइएको छ । मृतक सबैको सनाखत हुन सकेको छैन, र जलेका स्थानहरू सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ।

आज बिहान मात्रै चाबहिल चुच्चेपाटीस्थित भाटभटेनीबाट ६ जनाको शव भेटिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार ००:००  १२ : ५० बजे