काठमाडौँ-जेनजी आन्दोलनको मौका छोपेर कारागारबाट कैदी भाग्ने क्रम तीव्र भएको छ । देशभरका विभिन्न कारागारबाट अपराधीहरू भगाइएका हुन् ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले कारागार तोडफोड गरी ४०० भन्दाबढी कैदी भागेको बताए । भागेका कैदीले अदालत समेत तोडफोड गरेका छन् ।
कारागारमा समेत तोडफोड र आग्जनी गरिएको छ । भागेकामध्ये २० जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । कपिलवस्तु कारागारमा ४७० जना कैदी थिए ।
तीमध्ये ३५ जना भने कारागारमै रहेका छन् । सुनसरीको झुम्का कारागारबाट पनि कैदीबन्दी भागेका छन् । जेलर सुवास लामिछानेले अधिकांश कैदीबन्दी भागेको बताए ।
कैदीबन्दी भाग्दै गर्दा नेपाली सेनाको टोली कारागार पुगेको थियो । भाग्दै गरेका केही कैदीबन्दीलाई सेनाको सहयोगमा नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीबाट समेत थुनुवालाई भगाइएको छ । उर्लाबारीमा १९ र पथरीमा १४ जना थुनुवा थिए । जेनाजीको नाममा आएको समूहले मुद्दा शाखाका सबै कागजात जलाएको छ ।
चितवनको भरतपुर कारागारमा रहेका कैदीबन्दी पनि भागेका छन् । बुधबार बिहान कैदीहरूले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मे परेको छ ।
भरतपुर कारागारमा ७०० भन्दा बढी कैदीबन्दी थिए ।



















