झापा-लामो वार्तापछि नेपाल चिया उत्पादक सङ्घ र चिया मजदुरका ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । नवौँ चरणको वार्तापछि दुवै पक्ष मजदुरको न्यूनतम पारिश्रमिक बढाउन सहमत भएका हुन्, जसले हजारौँ चिया श्रमिकको जीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
सोमबार भद्रपुरस्थित नेपाल चिया उत्पादक सङ्घको कार्यालयमा सम्पन्न सहमतिअनुसार, चिया श्रमिकले अब दैनिक न्यूनतम रु ५६५ पारिश्रमिक पाउनेछन् भने मासिकतर्फ न्यूनतम रु १५ हजार ६९९ प्राप्त गर्नेछन् ।
यसअघि दैनिक ५०० र मासिक १३ हजार ८९३ पाउँदै आएका मजदुरहरूको पारिश्रमिकमा उल्लेख्य वृद्धि भएको छ । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले यो सहमति रोजगारदाता र श्रमिकका प्रतिनिधि सङ्गठन बीचको समन्वयको उपज भएको बताउनु भयो ।
नेपाल चिया उत्पादक सङ्घको तर्फबाट वार्ता समिति संयोजक जेपी शर्मा र श्रमिक सङ्गठनका तर्फबाट राईसहित अखिल नेपाल चिया मजदुर सङ्घकी अध्यक्ष सीता सापकोटा र नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको छ ।
यो सहमतिलाई नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सिफारिस गरिनेछ । उक्त समितिले यसै सहमतिका आधारमा निर्णय गरी नेपाल सरकारको राजपत्रमा प्रकाशित गरेपछि औपचारिक रूपमा लागू हुनेछ ।
चिया मजदुरहरूले साउन १८ गतेदेखि पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनको सुरुआत गरेपछि वार्ता प्रक्रिया अघि बढेको थियो । यस सहमतिका साथ आगामी दुई वर्षका लागि चिया बगानमा पारिश्रमिक सम्बन्धी विवाद टुङ्गिएको छ ।



















