विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइलहरू सात दिनभित्र टुङ्गो लगाउन निर्देशन दिनु भएको छ ।
कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले अबदेखि सात दिनभित्र मन्त्रालयमा पुगेका राय परामर्श र अन्य सबै खाले फाइल टुङ्गो लगाउन निर्देशन दिनु भयो ।
उहाँले सात दिनभित्र फाइल किनारा लगाउन नसक्ने भए के कारणले लागेन भन्ने कारणसहित सम्बन्धित निकायलाई जानकारी दिन निर्देशन दिनु भयो । उहाँले भन्नुभयो, ‘हामी कहाँ धेरै फाइल पनि हुँदैन तर अड्काउने प्रवृत्ति राम्रो होइन। यसमा सुधार होस ।’
मुख्यमन्त्री कार्कीले बेरुजु फर्छ्यौटमा पनि कडा रुपमा प्रस्तुत हुन निर्देशन दिनु भयो । उहाँले लिखित रूपमा बेरुजु फर्छ्यौटको लागि अनुरोध गर्ने त्यसो नभए कानुनी प्रक्रिया अपनाएर अगाडि बढ्नुपर्ने बताउनु भयो ।
उहाँले नीतिगत बेरुजु र असुल उपर गर्नुपर्ने बेरुजु छुट्याएर पुस मसान्तभित्र किनारा लगाउन कर्मचारीहरूलाई निर्देशन दिनु भयो ।
सुशासनलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्दै मुख्यमन्त्री कार्कीले नीतिगत र प्रशासनिक कामलाई छिटो र छरितो बनाउनुपर्ने बताउनु भयो ।
उहाँले गुनासो सुनवाई शतप्रतिशत र प्रशासनिक कामलाई जनताले देखिने गरी छिटो छरितो ढंगले टुंग्याउन निर्देशन दिनु भयो ।
कोशी प्रदेश सरकारले प्रदेशको आर्थिक समृद्धिका लागि सुरु गरेको उदय परियोजना, ब्याज अनुदान कार्यक्रम, पर्यटन वर्ष, पदमार्गमा आधारित पर्यटन विकास र लगानी सम्मेलन मार्फत आएका परियोजनालाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
उहाँले प्रदेश सरकारका काम मात्रै होइन यो प्रदेशमा संघीय सरकारले गरिरहेका काममा पनि समन्वय बढाएर नागरिकलाई सेवा दिन कर्मचारीहरूलाई निर्देशन दिनु भयो । कार्यक्रममा कोशी प्रदेश सरकारकी प्रमुख सचिव चन्द्रकला पौडेलले बेरुजु फछर्योट र ओएनएम सर्वेका काम साथै राजस्व कानुन लगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भयो ।
नीति तथा कार्यक्रम समीक्षामा प्रदेश सरकारका मन्त्री, सचिव र मन्त्रालयका महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।



















