१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

कोशी प्रदेशमा तीन हजार रोजगारी सिर्जना हुने परियोजना सञ्चालन हुँदै



विराटनगर- कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ । यस परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ ।

‘उदय’ परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ। ६० करोडको ग्यारेन्टी फन्डमार्फत ८ अर्ब बराबरको कर्जा सुरक्षा गरिने र २८ करोडको च्यालेञ्ज फन्डमार्फत प्रवर्द्धनात्मक तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

इनफर्मेशन पोर्टलमार्फत बजारसम्बन्धी सूचना उपलब्ध गराउने व्यवस्था पनि परियोजनाले गर्नेछ । परियोजनाअन्तर्गत बिना धितो ३० लाखदेखि ३ करोडसम्मको कर्जा उपलब्ध गराइने र त्यसका लागि बैंक छनोटको प्रक्रिया अघि बढाइएको छ ।

कोशी प्रदेश सरकारका अनुसार, उदय परियोजनाले प्रदेशमा उद्यमशीलताको विकाससँगै ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र आर्थिक आधारलाई मजबुत पार्ने लक्ष्य लिएको छ । परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि कार्यविधि तयार भइसकेको छ । ‌

यो परियोजनालाई प्रदेश सरकारले प्रदेशका १४ वटा जिल्लामा पुर्याउने लक्ष्य राखेको छ । पहाडी क्षेत्रको बसाइसराइलाई मध्यनजर गरेर त्यहाँ सञ्चालन रहेका साना तथा मझौला उद्योगलाई प्रवद्र्धन गर्ने र नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने नीति कोशी प्रदेश सरकारले लिएको छ ।

यो परियोजना अन्तर्गत कोशी प्रदेश सरकारको क्रेडिट ग्यारेन्टीमा झण्डै ८ अरब रुपैयाँ लगानी परिचालन हुनेछ । पहिलो चरणमा चार वर्षसम्म सञ्चालन हुने यो परियोजनाबाट कोशी प्रदेशमा ३ हजार रोजगारी सिर्जना हुनेछ ।

परियोजनाका व्यवसाय विकास प्रमुख विष्णु काफ्लेले यो परियोजनाको प्रोजेक्ट १० वर्षसम्म सञ्चालन गर्ने गरी तयार गरिएको बताउनु भयो । उहाँले पहिलो चरणमा यो परियोजना चार वर्षसम्मको हुने जानकारी दिनु भयो ।

उदय परियोजनाका टिम लिडर अरुण राणाले यो परियोजनालाई सफल रुपमा अगाडि बढाउने गरी तयारी गरिएको बताउनु भयो । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदीले यो परियोजनाबाट कोशी प्रदेशलाई थप उचाइमा लैजानको लागि सहयोग पुग्ने जानकारी दिनु भयो ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना रानाले परियोजना सञ्चालन भएसँगै प्रदेशमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताउनु भयो । उहाँका अनुसार, परियोजनाले बजार प्रवर्द्धनदेखि नयाँ उद्योग स्थापना गर्ने बाटो खोल्नेछ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक उदय परियोजनालाई कोशी प्रदेशमा नमुनाका रूपमा सफल बनाएर देशव्यापी रूपमा उदाहरण दिने विश्वास व्यक्त गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले पर्यटन कृषिमा ध्यान दिएको उल्लेख गर्दै पदमार्गमा आधारित पर्यटन विकासका लागि चारवटा पदमार्ग निर्माण गरिरहेको बताउनु भयो ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार ००:००  ३ : १४ बजे